Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

थाहामा ‘हाइटेक ग्रीन हाउस’मा रमाउँदै :कृषि शिक्षक निश्चल
कुमार नेगी

जनजीवन कोरोना महामारीको चपेटामा परेको छ । सरकारले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । तर, खेतीपातीको काममा त कसले छेक्ने ? हिजोआज मकवानपुरको थाहा नगरपालिकास्थित जनकल्याण माध्यमिक विद्यालयका कृषि विषयका शिक्षक निश्चल शाक्य दैनिक आफ्नो उच्च प्रविधियुक्त ‘हाइटेक’ नर्सरीमा भेटिनुहुन्छ । नर्सरीमा अहिले काउली, बन्दा, खुर्सानी, गोलभँेडाजस्ता तरकारीका बेर्नाहरु हुर्किरहेका छन् । कोरोना प्रभावको कारण विद्यालयमा प्रत्यक्ष पठनपाठन ठप्प भएको बेला निश्चल भने आफ्नो पूरा समय नर्सरीमा बिताइरहनु भएको छ । 
बागलुङको बागलुङ नगरपालिका वडा नम्बर ४ का स्थायी बासिन्दा निश्चल अढाई वर्षअघि मकवानपुरको थाहा नगरपालिकामा कृषि प्रशिक्षकको रुपमा आउनुभएको थियो । प्राविधिक धारतर्फ कक्षा ९–१२ मा बाली विज्ञान र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गत डिप्लोमा तहमा कृषि विषयको पठन पाठन भइरहेको जनकल्याण माविमा कृषि प्रशिक्षक आवश्यकताको विज्ञापन खुलेपछि थाहा नगरका अत्यन्त मिल्ने साथी विनोद केसीले उहाँलाई निवेदन दिन सुझाउनुभएको थियो । जनकल्याण माविमा कृषि प्रशिक्षकको जागीर खाएपछि उहाँ जागीरमा मात्र सीमित हुनुभएन । विद्यार्थीहरुलाई व्यवहारिकरुपमा फिल्डमा समेत सक्रिय गराउनु त उहाँको कर्तव्य थिया नै, त्यसको अतिरिक्त कृषिमा नवीनतम प्रविधि भित्र्याएर कृषकहरुका लागि केही गर्न सकिन्छ कि भनेर सोचिरहनुभएको थियो । त्यही सोचको परिणाम अहिले थाहा नगरपालिकामा मात्र होइन, नेपालमै पहिलोपटक जापानी प्रविधिको ग्रीन हाउस निर्माण गरेर हाइटेक नर्सरी स्थापना गरिएको निश्चल बताउनुहुन्छ । 


थाहा नगरपालिका झण्डै सत्प्रतिशत घरपरिवार कृषिमा आश्रित भएको स्थानीय तह हो । थाहालाई कतिपयले ‘बेमौसमी तरकारीको राजधानी’को संज्ञासमेत दिने गर्दछन् । तीन दशकयता यहाँका कृषकहरुले बमौसमी नगदे तरकारी खेती गर्दै आएका छन् । मुख्य तरकारी बालीहरु आलु, काउली, बन्दा, मूला, गाँजर, धनिया, खुर्सानी, मटरकोसा, गोलभेडा आदि हुन् । काठमाडौँ, हेटौैँडा, पोखरा, विराटनगर, दमौली, वीरगन्ज, नारायणगढ लगायतका सहरहरुमा थाहा नगरपालिका(पालुङ)को तरकारीको माग हुन्छ । त्यतिमात्र होइन, थाहाको तरकारी भारत, भुटान र श्रीलङ्कासम्म निर्यात् हुन्छ । बेमौसमी भएकोले तरकारीको मूल्य पनि राम्रै पाइन्छ । तर, यस्ता तरकारी उत्पादन गर्नका लागि गुणस्तरीय बीउ र बेर्ना उत्पादन गर्न नसक्नु यहाँका कृषकहरुको मूख्य समस्या हो । यही समस्या र आवश्यकतालाई बुझेर निश्चलले कृषकहरुलाई गुणस्तरीय बेर्ना उपलब्ध गराउन हाइटेक नर्सरी शुरु गर्नुभएको हो । 
आधुनिक कृषिमा विश्वकै नमूना बनिरहेका जापान र इजरायलमा धेरैजसो हाइटेक ग्रीन हाउसमा तरकारी खेती हुने गरेको छ । तर नेपालमा भने यसअघि जापानी प्रविधिको ग्रीन हाउस निर्माण नगरिएको निश्चलको भनाइ रहेको छ । जापानको मात्सुजाकाया प्रा.लि.को सम्बन्धनमा मिसन फर ग्रीन इन्टरप्राइज प्रा. लि.ले नेपालमा यस वर्ष मकवानपुरको थाहा नगरपालिकासहित पोखरा, सिन्धुपाल्चोक र बागलुङमा यस्तो प्रविधिको ग्रिन हाउस निर्माण गरिएको उहाँले बताउनुभयो । यो नै नेपालमा भित्रिएको जापानिज प्रविधिको पहिलो ग्रीन हाउस भएको उहाँको दाबी रहेको छ । निश्चल मिसन फर ग्रीन इन्टरप्राइज प्रा. लि.मा आवद्ध हुनुहुन्छ ।


अहिले नेपालमा आम कृषकहरुले निर्माण गरिरहेको ग्रीन हाउस इजरायली प्रविधिको हो । अहिले नेपालमा आम कृषकहरुले ग्रीन हाउस निर्माण गर्दा ९० देखि १२० जिएसएम(ग्राम प्रति वर्गमिटर) को सिल्पोलिन प्लास्टिकको प्रयोग हुन्छ । जापानी प्रविधिको ग्रीन हाउसमा भने सुपर सिल्पोलिन प्लास्टिकको प्रयोग गरिएको हुन्छ जुन ४५ देखि ६० जिएसएमबाट बनेको हुन्छ । प्लास्टिकमा जति जिएसएम कम भयो त्यतिकै मात्रामा सूर्यको प्रकाश छिर्ने निश्चलको भनाइ रहेको छ । इजरायली प्रविधिको ग्रीन हाउस एक–दुई वर्षमै प्रभावहीन हुने तर जापानी प्रविधिको ग्रिन हाउस ५ देखि ७ वर्षसम्म टिक्ने भएकोले निश्चल यो प्रविधितर्फ आकर्षित हुनुभएको हो । यस प्रविधिको ग्रीन हाउसमा प्रयोग हुने पाता तथा पाइप २० वर्षसम्म टिक्नुका साथै सुपर सिल्पोलिन प्लास्टिकका कारण करिब ४ सेन्टीमिटरसम्मको असिना थेग्न सक्ने हुन्छ । यो प्लास्टिक सिसाजस्तै पारदर्शी हुन्छ । 
सुपर सिल्पोलिन प्लास्टिकबाट बनेको जापानी प्रविधिको  ग्रीन हाउस सामान्यतया ६ दशमलव ४ मिटर चौडाइ र २५ मिटर लम्बाइको निर्माण गरिन्छ । यसमा प्रयोग हुने सामान ३ जना कामदारले सजिलै बोक्न सक्छन् भने ३ जना दक्ष कामदारले दुई दिनमा जडान गर्न सक्छन् । यसलाई सजिलै अन्यत्र स्थानान्तरण पनि गर्न सकिन्छ । इजायली प्रविधिको ग्रीन हाउसमा जमिनमा सिमेन्टको ढलान गरेर डण्डीहरु स्थिर बनाइनुका साथै बलियोका लागि ‘वेल्डिङ’ गरिने भएकोले पछि एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिँदैन । 
जापानी प्रविधिको ग्रीनहाउस हावापानी अनुसार उचाइ मिलाउन सकिने हुन्छ । आवश्यकता र क्षेत्रफलअनुसार यो ग्रीनहाउस अष्टभुज, यू, भी र ट्रस गरी चार प्रकारको आकारमा निर्माण गर्न मिल्छ । 


तापक्रम, रोग र कीरा नियन्त्रण गर्न मिल्ने भएकोले ग्रीन हाउसमा गुणस्तरीय बेर्ना तयार पार्न सकिने निश्चल बताउनुहुन्छ । 
अहिले निश्चलले थाहा नगरपालिका वडा नम्बर ४ शिखरकोटमा ३ वटा जापानी हाइटेक ग्रीन हाउस निर्माण गर्नुभएको छ ।  करिब रु. २३ लाख निजी लगानीमा ग्रीन हाउस स्थापना गरिएको हो । नर्सरीसमेत शुरु गर्दा अहिलेसम्म रु. ३३ लाख लगानी भइसकेको निश्चलले बताउनुभयो । पूर्ण क्षमतामा नर्सरी सञ्चालन हुँदासम्म रु. ८५ लाख लगानी पुग्ने उहाँको अनुमान छ ।

निश्चललाई उहाँका साथी विनोद केसीले हाइटेक ग्रीन हाउस र नर्सरी परियोजनामा नजिकबाट सघाइरहनुभएको छ। स्थानीय क्षेत्रमा समन्वय गर्नेदेखि हाइटेक ग्रीन हाउस र नर्सरी व्यवस्थापनमा विनोदको महत्वपूर्ण योगदान रहेको निश्चलले बताउनुभयो । ‘उहाँ(विनोद) सँग चिनजान नभएको भए म यतिबेला थाहामा हुने थिइन होला, यो प्रोजेक्ट.(नर्सरी) शुरु गर्न र व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका उहाँ(विनोद)कै छ’ उहाँले भन्नुभयो । 


उहाँलाई प्रशासनले जारी गरेको निषेधाज्ञा मात्र होइन, घाम–पानी, हुरी र असिनाले पनि छेकेको छैन । कृषकहरुको अर्डरअनुसार अहिले नर्सरीमा १२ हजार काउली, ८ हजार बन्दा, १८ हजार खुर्सानी र २ हजार गोलभेँडाका बेर्ना हुर्किरहेका छन् । नर्सरीमा ह्वाइट टप र सुपर जातको काउली, बिआर र बिक्सन जातको बन्दा, बक्सर, नामधारी र अकबरे खुर्सानी र सिर्जना जातका गोलभेँडाका बेर्ना रहेका छन् । बीउ राखेको १५ देखि २० दिनसम्म काउली–बन्दा र २० देखि २५ दिनभित्र खुर्सानी–गोलभँेडाको बेर्ना रोप्न तयार हुने उहाँ बताउनुहुन्छ । सामान्यतया खुल्ला जमिनको नर्सरीमा भन्दा ग्रीन हाउसमा १५ दिनअगावै बेर्ना तयार हुन्छ । तरकारीसँगै अब फलफूलको बेर्ना तयार गर्ने र सयपत्री, लिली, गुलावजस्ता फूलहरुको नर्सरी छिट्टै शुरु गरिने निश्चलको योजना छ । ग्रीन हाउसमा एकसाथ ६ लाख बेर्ना तयार पार्न सकिने क्षमता छ । ६ लाख बेर्ना विक्री गर्दा करिब रु. ३ लाख नाफा हुने निश्चलको अनुमान छ । यसपाली कृषकले खुल्ला जमिनमा तरकारीको बीउ राखेकोमा असिनाले बेर्ना सखाप पारेपछि निश्चलको हाइटेक नर्सरीमा बेर्नाको अर्डर आउन थालेको उहाँको भनाइ रहेको छ । 
ग्रीन हाउसमा  तयार गरिएको बेर्नाबाट खेती गर्दा रोगव्याधी लाग्ने सम्भावना कम हुने र उत्पादनमा वृद्धि हुने भएकोले व्यवसायिक खेतीका लागि उपयुक्त हुने कृषि प्राविधिकहरुको भनाइ छ । हरेक विरुवाको निश्चित आयु हुने भएकोले तिनीहरुको जीवन चक्रलाई सहीरुपमा बुझेर खेती गर्न सके उत्पादन राम्रो लिन सकिन्छ । बीउ राखेको ९० दिनमा उत्पादन गरेर बेच्नु पर्ने बाली खुल्ला जमिनमा तयार गरिएको बेर्ना रोप्ने बेलासम्म ६० दिन गुज्रिसकेको अवस्थामा उत्पादन नाम मात्रको हुन्छ । ग्रीन हाउसमा छिटो बेर्ना तयार हुने भएकोले राम्रो उत्पादन दिने निश्चल बताउनुहुन्छ । 
अहिलेलाई थाहा नगरपालिका लक्षित गरिए पनि भविष्यमा मकवानपुर जिल्ला र हिमाली तथा पहाडी जिल्लाका कृषकहरुलाई लक्षित गरेर वेर्ना तयार पारिने  निश्चलले बताउनुभयो । 


‘मलाई पहिले यस प्रविधिबारे जानकारी थिएन, अहिले काम गर्दै जाँदा यसलाई मुलुकभरि नै विस्तार गर्ने हो भने कृषकले अधिकतम फाइदा पाउने देखेको छु,’ निश्चलका साथी विनोद केसीले भन्नुभयो, ‘ यो प्रविधिलाई सरकारले अध्ययन गरेर उसको कार्यक्रम भित्र समावेश गर्न जरुरी छ ।’ यस्तो प्रविधिको प्रवर्धन गर्न सरकारले विशेष अनुदानको व्यवस्था गर्नुपर्ने विनोदको भनाइ रहेको छ । 


ग्रीन हाउसमा अन्यत्रभन्दा कम्तीमा ३ गुणा बढी तरकारी फलाउन सक्ने वातावरण हुने भए पनि तत्काललाई बेर्ना उत्पादनमै जोड दिइने निश्चल बताउनुहुन्छ । ‘ग्रीन हाउसमा छिटो उत्पादन हुने खालका बन्दा, काउली, गाँजर, गोलभेँडा जस्ता खेतीगर्न सकिने भए पनि अहिलेको मुख्य लक्ष्य स्थानीय कृषकहरुलाई गुणस्तरीय बेर्ना उपलत्तध गराउनु नै हो’, उहाँले भन्नुभयो । 
नगरमा नयाँ प्रविधिको ग्रीन हाउस स्थापना गरेर नर्सरी शुरु भएपछि स्थानीय कृषकहरुका लागि अध्ययन केन्द्र बन्न थालेको छ । नजिकका कृषकहरु ग्रीन हाउसमा आएर अवलोकन गर्ने र वेर्नाको अर्डर गर्ने गरेको निश्चल बताउनुहुन्छ । नवीनतम प्रविधि भएकोले स्थानीय जनप्रतिनिधिहरु र कृषि प्राविधिकहरु पनि अवलोकनको लागि आउने गरेका छन् । निश्चलले अवलोकनकर्ताहरुलाई जापानिज प्रविधिको ग्रीन हाउसको उपयोगिताबारे बताउने गर्नुभएको छ । ‘कृषकहरुलाई यसको उपयोगिता मात्र होइन, व्यवसायिक खेतीबारे आवश्यक परामर्शसमेत दिने गरेको छु’ उहाँले भन्नुभयो । आगामी दिनमा जनकल्याण माविका कृषि विषयका विद्यार्थीहरुले निश्चलकै नर्सरीमा ओजेटी गर्ने सोच बनाएका छन् । 
हाइटेक नर्सरी संचालनमा विश्वभर फैलिएको कोरोना भाइरसको प्रत्यक्ष प्रभाव नपरे पनि सामान ढुवानी र किसानसँग प्रत्यक्ष अन्तरक्रिया गर्न समस्या भएको निश्चलले बताउनुभयो । ‘नर्सरीका लागि ट्रे र पिटमस ल्याउन समस्या भइरहेको छ’ उहाँले भन्नुभयो । तत्काललाई बीउबिजन भने नजिकको बजारमा पाइरहेको उहाँले जानकारी दिनुभयो । अहिले निषेधाज्ञाको अवधि चलिरहेको र समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकोले हाइटेक नर्सरीका बारेमा किसानसँग प्रत्यक्षरुपमा भेटेर अन्तरक्रिया गर्न नसकिएको बिनोदले बताउनुभयो । 
विगतका केही वर्षदेखि थाहा नगरपालिकामा प्लास्टिकको टनेल प्रविधिबाट व्यवसायिक खेती गर्ने प्रचलन बढ्दै गएको छ । बाली उत्पादन र कृषकको आम्दानी सुरक्षित हुने भएपछि स्थानीय सरकारले पनि टनेल खेती प्रवर्धनमा जोड दिँदै आएको छ । थाहामा निश्चलले भित्र्याएको जापानी प्रविधिको ग्रीन हाउस र हाइटेक नर्सरीले भविष्यमा स्थानीय कृषि अर्थतन्त्रमा राम्रो योगदान गर्न सक्ने देखिन्छ । 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...