himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

उद्यमी बन्दै वनकरियाका महिला, तीतेपाती र निमबाट साबुन उत्पादन गर्दै

1712278851561-1712278886.jpg

अञ्जली थापा/ हेटौंडा ,मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्दै आइरहेका अतिलोपोन्मुख वनकरिया बस्तीका महिलाले खोलाको किनार र वनमा खेर गइरहेको तीतेपाती र निमबाट साबुन उत्पादन गरी गुजारा चलाइरहेका छन् । मसिने शान्ति सामुदायिक वन मध्यवर्ती क्षेत्रमा परिणत भएसँगै वनमा आधारित यस समुदायका महिला खेर गइरहेको तीतेपाती र निमको प्रयोग गरेर उद्यमी बनेका हुन् ।

विसं २०६२ मा जिल्ला विकास समिति मकवानपुर र मनहरी गाविसको सहयोगमा वनको घुमन्ते जीवनबाट बस्तीमा बस्न आएका वनकरिया समुदायका वासिन्दा अहिले विस्तारै आत्मनिर्भर हुन थालेका हुन् । अहिले उनीहरुले आफ्ना सन्तानलाई विद्यालय पठाउनेदेखि सामाजिक कार्यहरुमा पनि संलग्न हुन थालेका बनकरियाकी मुखिया सन्तमाया बनकरियाले बताए । उनले भने, ‘हामी जङ्गली जीवनबाट गृहस्थ जीवनमा आएका हौँ । हामीले पाएको जस्तो दुःख हाम्रा छोराछोरीलाई नपरोस् भनेर कोशिस गरिरहेका छौँ ।’

हिजो जङ्गलकै गिठ्ठाभ्याकुर र अन्य फलफूल खाएर बाँचेका उनीहरु अहिले अन्नबाली उत्पादन गर्न लागिपरेका छन् । उनले भने, ‘हामीलाई अन्न खान रहर लाग्दा लोग्नेमान्छेहरुले कुरिलो, कुचो, माछा लिएर बस्ती जाने गर्थे, अहिले हामी आफैँ फलाइरहेका छौं ।’ बिरामी र सुत्केरी हुँदा खान नपाएको सम्झँदै त्यो दिन भोलिको पुस्ताका लागि कथा जस्तो हुने उनले बताए ।

जेटिए अध्ययन गरेकी सन्तोषी वनकरियाले पढाइपछि गाउँमा नै काम गरेर सबैलाई कृषितर्फ लाग्न प्रेरित गरेका छन् । उनका अनुसार अहिले प्रत्येक घरमा भैंसी पालिएको छ । भैंसीको दूध बिक्री गर्नुभन्दा पनि घिऊ बनाएर बेच्दा फाइदा हुने भएकाले धेरैले घिऊ बिक्री गर्ने गरेका छन् । केही वर्ष पहिला प्रत्येक घरमा करेसामा माछापोखरी खनिएको भएपनि सर्पले माछा खाइदिने समस्या रहेकाले अहिले उनीहरु पशुपालन र कृषितर्फ आकर्षित भएका छन् ।

गाउँपालिकाले उनीहरुलाई समयसमयमा सिलाइबुनाइ, तरकारी खेतीलगायतका तालिम उपलब्ध गराउँदै आएको छ । त्यस्ता तालिमबाट सिकेको ज्ञानले उनीहरु अहिले आफ्ना बारीमा तरकारी, फलफूल, मकै आधुनिक तरिकाले लगाउन थालेका छन् । कतिपयले बाख्रा, कुखुरा तथा माछापालनसमेत गरेका छन् । यसले उनीहरुको जीवनस्तरमा विस्तारै सुधार आएको छ ।

साबुन उत्पादनतर्फको आकर्षण

विगतमा मसिने शान्ति सामुदायिक वनबाट कुचो/खरेटो, कुरिलो, गिट्ठा भ्याकुर खोज्ने र खोलामा माछा मार्ने काम गरेर गुजारा चलाउँदै आएका उनीहरुलाई सो वन मध्यवर्ती क्षेत्रमा परेपछि उनीहरुलाई समस्या भएको थियो । अहिले समुदायमा बस्न थालेपछि उनीहरुले तीतेपाती, नीम र ध्यूकुमारीबाट साबुन बनाउने व्यवसाय थालनी गरेका हुन् । हाल वनकरिया चेपाङ महिला साबुन उद्योग दर्ता गरेर उत्पादन सुरु गरेको उनले जानकारी दिए ।

बनकरिया र चेपाङ बस्तीको २५ जना महिला मिलेर साबुन बनाउन थालेको मुखिया सन्तमायाको भनाइ छ । उनका अनुसार गत वर्ष राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले उनीहरुलाई साबुन बनाउने तालिम दिएको थियो । तालिमपछि आयआर्जनमा आफूहरु जोडिने अवसर पाएको उनले बताए । साबुन उत्पादन गर्नको लागि आवश्यक औजार समेत मञ्चले प्रदान गरेको छ ।

अब उनीहरुको चुनौती भनेको आवश्यक कच्चापदार्थ र बजारीकरणको रहेको छ । ‘साबुनका लागि कच्चा पदार्थ निम रोप्न थालेका छौँ, घ्यूकुमारी बारीमा अलिअलि रोपेका छौँ, तीतेपाती वरिपरि बगर, बाटोतिर पाउँछौँ’, सन्तमायाले भने । सानो, मध्यम र ठूलो साबुन उत्पादन गरेका उनीहरुले २० देखि ६० रुपियाँ सम्ममा साबुन बेच्ने गरेका छन् ।

मञ्चले फर्मा र साबुन बनाउन आवश्यक सामग्री र दुई लाख लगानी गरेको थियो । स्थानीय सम्झना बनकरियाले साबुन बनाउन बुटवलबाट फर्मा ल्याएको बताउँदै भने, ‘’साबुन बनाउन मेहनत पर्छ, तीतेपाती टिप्न जानुपर्यो, केलाउनु पर्यो, पकाउनु पर्यो ।’’ यहाँ उत्पादन गरिएको साबुन घाउ खटिरा, चिलाउने समस्या र छालाका लागि राम्रो हुने भएकाले विस्तारै माग बढ्न थालेको उनको भनाइ छ ।

अहिले मञ्चले नै उनीहरुले बनाएका साबुन किनिदिएको छ । सधैँ यसरी एउटा संस्थाले किनदिएका भरमा मात्रै व्यवसाय दिगो हुन नसक्ने भएकाले अब बजारीकरणको भने चिन्ता लागेको सम्झनाले बताए । मञ्चले दिएको थोरै रकमबाट सुरु गरिएको काममा लगानी पुँजी न्यून हुँदा उत्पादन पनि न्यून भएकाले आफूहरुलाई व्यवसाय विस्तार गर्न समस्या भएको उनको भनाइ छ ।

जङ्गली कन्दमूलको सहारामा वर्षको आधा समय बिताउने बनकरिया समुदायमा पछिल्ला वर्षहरुमा क्रमशः परिवर्तन देखिएको छ । आधुनिक जीवनउपयोगी सीपसँग टाढा रहेका बनकरिया समुदायका पाँच किशोरी र एक किशोरले एसएलसी/एसइई परीक्षा उत्तीर्ण गरेका छन् ।

दुई जना किशोरी प्राविधिक क्षेत्रमा लागेका छन् । बनकरिया जातिमा पहिलो शिक्षित महिला सन्तोषी बनकरियाले कृषि प्राविधिक (जेटिए) बनेर गाउँमा नै काम गर्न थालनी गरेकी छिन् । वनकरिया समुदायबाट पहिलोपटक एसएलसी परीक्षा (२०७२) उत्तीर्ण गरेकी पम्फा वनकरिया ल्याब असिस्टेन्ट टेक्निसियन विषय अध्ययन गरी हाल मनहरीको रजैयामा ल्याब असिस्टेन्टको जागिर खाइरहेको मुखिया सन्तमायाले जानकारी दिए ।

पछिल्लो वर्षमा सरकारले वनकरिया समुदायलाई जनही मासिक रु चार हजार सामाजिक सुरक्षाबापत भत्ता दिन थालेपछि उनीहरुको आर्थिक अवस्थामा केही सुधार आएको छ ।

विगत १८ वर्षदेखि सुकुम्बासीका रूपमा मकवानपुरको मनहरी–४ मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख वनकरियाको आफ्नो नाममा जग्गा छैन । अल्पसङ्ख्यक वनकरीयाले जङ्गलमा फिरन्ते जीवन बिताउँदा कष्ट भएको भन्दै २०६२ सालमा यहाँको कबुलियती वनमा नेपाल सरकारले नै बस्न दिएको थियो । उनीहरुले यही बसोबास गरेकै स्थानमा सामूहिक जग्गाधनी पूर्जा माग गर्दै आएका छन् ।

‘वनकरिया’ नेपालको सबैभन्दा थोरै जनसङ्ख्या भएका आदिवासी जनजातिमध्येको एक जाति समुदाय हो । उनीहरुको सङ्ख्या दैलेखमा फिरन्ते जीवन गुजारिरहेका राउटे जातिको भन्दा पनि कम छ । मकवानपुरको मनहरि गाउँपालिका–४ मसिने नजिक मुसेधापमा बसोबास गर्ने यो समुदाय लोपोन्मुख जाति समुदायभित्र पर्दछ । मुसेधापमा अहिले २५ घरपरिवारमा ९३ जना वनकरिया बसोबास गर्दै आएका छन् ।

मनहरी गाउँपालिका–४ मा रहेका वनकरियाहरुले राष्ट्रिय परिचयपत्र पनि बनाइसकेका छन् भने दुईवटा निर्वाचनमा मतदान पनि गरेका छन् । स्थायीरुपमा बसोबास गर्न र एकमुठ्ठी माटो आफ्नो भन्न नपाएकोमा भने उनीहरु दुःखी छन् ।

शिक्षित बन्दै वनकरिया समुदाय

वनकरिया समुदायका बालबालिका हरुलाई अध्ययन गराउनको लागि उनिहरुकै बस्तिमा स्थानिय सरकारले इसिडी कक्षा सञ्चालनमा ल्याइरहेको छ भने उक्त कक्षा अध्यापनको जिम्मा सन्तोषी वनकरियालाई नै दिइएको मनहरी गाउँपालिका–४ का वडाध्यक्ष प्रकाश थापाले जानकारी दिए ।

पशुपति माविका प्राध्यापक भानुभक्त आचार्यले वनकरिया समुदायमा छोराछोरी बढाउनुपर्ने चेतना जागृत भएको बताउँछन् । उनको अनुसार हालसम्म तीन जनाले एसएलसी र तीन जनाले एसइई पास गरेको छन् भने करिब १९ जना बालबालिका नियमित विद्यालय आइरहेका छन् ।

वनकरिया बस्तिमा हाल उच्च शिक्षा अध्ययन गर्ने छात्रासमेत भएको उनले बताए । वनकरियाहरु बिद्यालय भर्ना नहुँदा उनिहरुको घरमा नै गएर विद्यालय भर्ना अभियान चलाउनु परेको उल्लेख गर्दै प्राध्यापक आचार्य हाल विद्यालय आएका बालबालिकामा पनि पढाइप्रति लगाव बढेको बताउँछन् ।

कक्षा १२ मा अध्ययन गरिरहेकी सम्झना वनकरियाले आफूलाई पत्रकार बन्ने ठूलो धोको रहेको बताए । उनले आफ्नो समुदायको खबर लेख्न आउने अन्य पत्रकार जस्तै आफू पनि समाचार बनाउन सक्षम बन्ने चाहना राखे ।

जनसङ्ख्या घट्दो अवस्थामा

देशकै अल्पसङ्ख्यक यस समुदायमा जनसङ्ख्या घट्दो रहेको छ । विवाहका लागि योग्य उमेर समूहका पुरुषभन्दा महिलाको सङ्ख्या बढी भएकाले जनसङ्ख्या घट्दो रहेको देखिन्छ । महिला विवाह गरेर समान संस्कृति भएका चेपाङ जातिसँग जाने भएकाले जनसङ्ख्या घट्दो भएको स्थानीयवासी बताउँछन् । उनीहरुमा चेपाङ समुदायसँग विवाहबारी गर्ने चलन छ । केही वर्षअघि देशका ‘धर्तीपुत्र’ भएको ठहरसहित स्थानीय प्रशासनमार्फत नागरिकता पाएका वनकरिया जाति अहिले पनि शतप्रतिशत सुकुम्वासी छन् । विसं २०५९ मा देशको लोपोन्मुख आदिवासी जनजातिका रूपमा सूचीकृत भएको वनकरिया जाति अहिले राष्ट्रिय निकुञ्जको जग्गामा अस्थायीरूपमा बसोबास गर्दै आएका छन् ।

हाल वनकरियाको बसोबास रहेको मुसेधाप खहरेको बगर भएकाले यहाँ कृषि उत्पादन राम्रो हँुदैन । यहाँको उत्पादनले वनकरिया समुदायका लागि तीन महिना मात्रै खान पुग्छ । वनकरिया समुदायको आर्थिक अवस्था सुधार गर्न गाउँपालिकाले वनकरिया होमस्टे सञ्चालन गरिदिएको भएपनि प्रभावकारी बन्न नसकेको पालिकाकी उपाध्यक्ष सीता पुलामीले जानकारी दिए ।

गाउँपालिकाले लोपोन्मुख वनकरिया जातिको रहनसहन, खानपिन, परम्परा एवं संस्कृतिको प्रचारप्रसार गर्दै उनीहरुको आर्थिकस्तर माथि उकास्न तथा उनीहरुको जीवनशैलीको अवलोकन गर्न चाहने र उनीहरुकै घरमा बास बस्न चाहनेका लागि घरबास सञ्चालन गरे पनि पाहुना नआउँदा यो प्रयास सफल नभएको उनी बताउँछन् ।

उपाध्यक्ष पुलामीका अनुसार आर्थिक स्तरमा सुधार ल्याउन पालिकाले उनिहरुले नै सुरु गरेको साबुन उत्पादन कार्य प्रबद्र्धनमा सहयोग योजना बनाएको छ । गाउँपालिकाले वनकरिया बस्तीलाई विस्तारै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै लैजाने लक्ष्य लिएको छ । वनकरिया बस्तीमा उत्पादन भएको तरकारी, अन्न, फलफूलसँगैको खोलाको माछा, त्यहीको घट्टमा पिसेको पिठोका परिकार प्रवद्र्धन गरिने उनले बताए । रासस

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg