pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

संकटमा थाहाका ढुंगेधाराहरु

IMG_20201111_122458-1606216878.jpg

कुमार नेगी/संस्कृति र  सभ्यताको  चिनोका  रुपमा र हे का मकवानपुरको थाहा नगरपालिकाका ऐतिहासिक तथा कलात्मक ढुंगे धार ाहरू लोप हुने अवस्थामा पुगेका छन् । विभिन्न समयको बाढी–पहिरो, भूकम्पले बिगारेका धाराहरु आर्थिक श्रोतको अभाव र स्थानीयमा संरक्षण भावको अभावका कारण यस्तो हुन पुगेको हो । यसका साथै राजकुलो संरक्षणको अभाव, खानेपानीको नयाँ प्रविधिको विकास र उचित सरकारी योजनाको अभावमा थाहा नगरका ढुंगेधाराहरु लोप हुने स्थितिमा पुगेका हुन् ।

थाहा नगरमा रहेका कतिपय लिच्छविकालीन ढुंगेधाराहरु आफैँ तिर्खाएको अवस्थामा छन् भने कतिपयमा तिरतिर पानी झर्ने भए पनि प्रयोगमा आउन सकेको छैनन् । यसरी यहाँका कतिपय ढुंगेधाराहरु अहिले अस्तित्वमा नै छैनन् भन्दा पनि हुन्छ ।

थाहा नगरमा प्राचीन नेवार बस्तीहरु रहेको ठाउँमा ढुंगेधाराहरु रहेको पाइएको छ । वडा नं १ को कुन्छाल, कुलगाउँ र ओखरबजारस्थित नेवार बस्तीमा ऐतिहासिक ढुंगेधाराहरु रहेका छन् । त्यसैगरी वडा नं २ को पालुङ सहर, वडा नं ३ को गोपाली बस्ती, वडा नं ६ को पापुङ, कोट डाँडा, नारायण थान, ढल्ट, भूतडाँडामा परम्परागत ढुंगेधाराहरु रहेका छन् । वडा नं ९ चित्लाङको टुपीखेल, कुचुबु, माझगाउँ, गोल भाः, कुश्लेचौर, नयाँ पौवा र सिरान पौवामा ऐतिहासिक ढुंगेधाराहरु रहेको स्थानीय जानकार शान्तलाल नेवाःले बताउनुभयो । त्यसैगरी वडा नंं १० को विसिङ्खेल, न्हुल गाउँ, तल्लो बिसिङ्खेल, टौखेल, कलाँटो र सिसिण्डोलमा ढुंगेधाराहरु रहेका छन् । अस्तित्वको सङ्कटमा परेका समेत गरेर थाहा नगरपालिकाका ३५ स्थानमा ४६ भन्दाबढी परम्परागत ढुंगेधारा रहेका छन् ।

वडा नं १ कुन्छालस्थित ऐतिहासिक गोपालीबस्तीमा रहेको ढुंगेधारामा राखिएको शिलालेखअनुसार सो ढुंगेधारा नेपाल सम्वत् ८३३ मा निर्माण गरिएको थियो । फोसिँ मि परिवारले निर्माण गरेको हुँदा सो धारालाई स्थानीयहरुले फोसिँ हिटी भन्ने गर्दछन् । कुशे औँशीको अघिल्लो दिन जुवा चेँ अर्थात् नारायण देवता उत्पन्न भएको दिन मानेर स्थानीयहरुले हरेक वर्ष ढुंगेधारामा पूजा गर्ने गर्दछन् भने पूजापछि भोजसमेत गर्ने गरेको स्थानीय शिक्षक निराजन गोपालीले बताउनुभयो । सो दिन गाउँका सबैले त्यही धारामा नुहाउने गरेको प्रचलन समेत छ । विसं २०७२ को विनासकारी भूकम्पले मुहानमा पानी सुकेपछि ढुंगेधारामा पनि पानी बग्न छोड्यो । त्यस धारामा यस वर्षबाट पुनः तिरतिर पानी झर्न त थालेको छ तर पहिलेजस्तो भने आउँदैन ।

कुन्छालकै अर्को टोलमा रहेको ऐतिहासिक ढुंगेधारा अहिले अस्तित्वमै छैन । ग्रामीण सडक निर्माणको क्रममा गतवर्ष उक्त धारा पुरिएपछि ढुंगा निकालेर राखिएको छ । गाउँमा भित्रिने प्रत्येक नवदुलहीले पहिलोपटक सो धारामा नुहाउनै पर्छ भन्ने मान्यता रही आएको छ । ढुंगेधारा मासिएपछि अहिले नवदुलही नुहाउने प्रचलन पनि हराएको निराजन गोपालीले बताउनुभयो ।

थाहा नगरिपालिका– १ को कुलगाउँमा ढुंगेधारा रहेकोले सो टोललाई अहिले पनि मानिसहरुले हि छेँ भन्दछन् । नेवारी भाषामा हि छेँ भन्नाले धाराटोल भन्ने बुझिन्छ । तर अहिले टोलमा ढुंगेधारा देख्न सकिँदैन । थाहा– १ का वडा अध्यक्ष हेरमान गोपालीका अनुसार पानी खस्ने कलात्मक ढुंगा निकालेर राखिएको छ ।

वडा नं १ कै ओखरबजारमा पाँच ओटा ढुंगेधारा रहेकोमा तीन ओटामा पानी आउँदैन । ओखरबजारस्थित नारायणथानमा रहेको कलात्मक ढुंगेधारा सुकेको छ भने कलात्मक ढुंगाको छेउमा स्थानीयहरुले कहिलेकाहिँ हँसिया उध्याउने गरेका छन् । पहिले गाउँभरिका मानिसहरुलाई पानी पु¥याउने सो धारामा पानी सुकेको २५ वर्षभन्दा बढी भएको स्थानीय गणेशमान श्रेष्ठले बताउनुभयो । ओखरबजारकै अर्को टोलमा रहेको जोर ढुंगेधारामा खलल पानी आउने भए पनि स्थानीयहरुले सो पानी पिउन छोडेका छन् । विसं २०५० मा आएको बाढीले धारा नै बगाएपछि २०६२ सालमा अर्को धारो बनाएर पानी खसालिएको छ । ओखरबजारकै गणेश थाननमा रहेका दुई ओटा धारा पानीको अभावमा काकाकूल बनेका छन् ।

थाहा नगरपालिका वडा नंं २ स्थित पालुङ सहरमा रहेका २ वटा ढुंगेधारा जीर्ण अवस्थामा पुगेका छन् । स्थानीय तोयापानी प्रधानले ४२ मौजाका जिम्मावाल रहेको बेला २००२ सालमा सो ढुंगेधारा निर्माण गर्नुभएको थियो । दुबै धारा सुकेर जीर्ण भएपछि अहिले बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा संरक्षण योजना अघि सारिएको राजु नापितले बताउनुभयो ।

ऐतिहासिक गोपालीहरुको बस्ती शुरु भएकै बेलातिर निर्माण गरिएको मानिएको थाहा–३ को शेतीगणेश मन्दिरसँगै रहेको ऐतिहासिक ढुंगेधारालाई भने स्थानीयहरुले सदुपयोग गरिरहेका छन् । विसं १९९० मा गएको विनासकारी भूकम्पले मन्दिर भत्किएपछि १९९३ सालमा पुनर्निमाण गरिएको थियो । स्थानीयहरुले धाराको संरक्षण गरिरहे पनि सोही ठाउँमा रहेको मन्दिर, भजन पाटी र बस्तीलाई समेत समेटेर सम्पदा संरक्षणको कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीय सकुन्तला गोपालीको भनाइ रहेको छ ।

थाहाको वडा नं ६ स्थित नारायण थानमा रहेको ढुंगेधाराको पानी अहिले पनि स्थानीय कुश्ले जातीका मानिसहरुले प्रयोग गर्ने गर्दछन् । ढल्ट र पापुङको माथिल्लो टोलमा रहेका धाराहरुमा पनि पानी छ तर उचित संरक्षणको अभाव छ । कोटडाँडा र भूतडाँडामा धारा रहेपनि पानी आउँदैन । जरुङखोलामा रहेको कलात्मक ढुंगेधारा माथिबाट लेदो माटो बगेर पुरिएको अवस्थामा छ भने पापुङमा रहेको पुरानो धारा जीर्ण बनेको छ । कलात्मक धारा निकालेर राखिएको छ भने धारा रहेको स्थान झारले पुरिएको अवस्थामा छ । त्यससँगै रहेको अर्को ढुंगेधारा लोप नै भइसकेको स्थानीय ७७ वर्षीय ओमकृष्ण महर्जनले जानकारी दिनुभयो ।

महर्जनका अनुसार गाउँभरिका मानिसहरुले पानी पिउने ‘पुरानो धारा’ कहिले निर्माण भयो भन्ने कसैलाई थाहा नभए पनि उहाँको पूर्खाकै पालादेखि जनैपूर्णिमामा ढुंगेधाराको पुजा गर्ने गरिन्थ्यो । धारामाथि दुईवटा मूर्तीसमेत रहेको सो ढुंगेधारामा माटोकै पाइपबाट पानी ल्याएर खसालिएको थियो । पापुङको माथिल्लो टोलमा रहेको च्वे हिटी अर्थात् माथिको धारा पञ्चायतकालमा प्रधानपञ्चको घरबाट ढुंगेधारा ल्याएर निर्माण गरिएको ७२ वर्षीय मंगलदास बलामीले बताउनु भयो ।

थाहा नगरपालिकाको वडा नं ९ चित्लाङ सात धारा, गुर्जुधारा र पाँच धारा आदिले प्रख्यात छ । स्थानीय खोजकर्ता एवं जानकार शान्तलाल नेवाका अनुसार टुपीखेलमा रहेको २ वटा ढुंगेधारा लिच्छवी राजा अंशुबर्माका छोरा उदयदेवले निर्माण गर्नुभएको थियो । नपाल सम्वत् ९१४ मा राजाराम भन्ने व्यक्तिले सो ढुंगेधाराको जीर्णोद्वार गर्नुभएको थियो । मूर्तिहरु र धर्मशालासमेत रहेको ढुंगेधारामा २०७२ सालको भूकम्पपछि पानी सुकेकामा अहिले फेरि पानी आउन थालेको छ । टुपीखेल नजिकै देउला टोलका मानिसहरुले प्रयोग गर्ने एउटै मुहान भएको पाँचधारा रहको छ । विसं २०७२ को भूकम्पका कारण पाँचओटा धाराको श्रोतको पानी जमिनमुनि दविएपछि स्थानीय पाँचधारा देउला समाज समितिले उत्खनन् गरी संरक्षण गरेको छ । अहिले पाँचवटै धारामा पानी आइरहेको छ ।

थाहा– ९ को कुचुवुमा रहेको नारायण हिटी नेपाल सम्वत् ६०० तिरै निर्माण गरिएको मानिन्छ । पन्ध्रौँ शताब्दीमा पाटनका राजा विष्णुसिंह महापात्रले नारायण हिटी निर्माण गरेको शान्तलाल नेवाःले बताउनुभयो । स्थानीयहरुले सो धाराको सदुपयोग गरिरहेका छन् । धारानजिकै नारायणको मन्दिर पनि छ । थाहाको चित्लाङस्थित माझगाउँ ढुंगेधारा र गोल भाः को सात धारा निकै ऐतिहासिक मानिन्छ । राजा अंशुबर्माका छोरा उदयदेवको शिलालेख चित्लाङमा भेटिएकाले यी धाराहरु पनि त्यसैबेला बनेको स्थानीयहरुको अनुमान छ । काठमाडौँको स्वशासित क्षेत्रको रुपमा रहेको चित्लाङ–टिस्टुङ–पालुङ क्षेत्रको राजकाज गर्ने गरी राजा उदयदेवले हाल सातधारा रहेको क्षेत्रमा दरवार बनाएको र सोही क्रममा सात धारा निर्माण गरेको शान्तलाल नेवाः ले बताउनुभयो । पौराणिक कथनअनुसार भने द्वापर युगमा शोणितपुर भनिने हालको थानकोट क्षेत्रलाई राजधानी बनाएर राजा वाणाशुरले शासन गर्दथे । वाणाशुर आफ्नो रानीसहित मेल चोँ अर्थात् मृगस्थली डाँडामा विहार गर्न आउने क्रममा उहाँकी पुत्री उषामायालाई स्नान गर्नका लागि सातधारा निर्माण गरिएको थियो ।

चित्लाङको नयाँ पौवा र सिरान पौवामा पनि ढुंगेधाराहरु रहेका छन् । शिवरात्रीमा यात्रीहरुलाई सर्वत दान गर्ने भएकोले यसलाई सरावत पौवा भनिन्छ । सिरान पौवाको ढुंगेधारा राजा पृथ्वीनारायण शाहका प्रमुख सेनापति अभिभानसिंह बस्न्यातको निधनपछि उहाँकी श्रीमतीले निर्माण गरेको मानिन्छ । सो ढुंगेधारा गुर्जुधाराको नामले प्रख्यात छ । परापूर्व कालदेखि ‘गुरुज्यू’हरुले स्नान गर्ने भएकोले यो धारालाई गुर्जुधारा भनिएको स्थानीय बुद्धिजीवी बुधरत्न मानन्धरले बताउनुभयो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले उहाँको चर्चित ‘यात्री’ कविता सोही ढुंगे धारामा बसेर लेखेको मानिन्छ । प्रदेश सरकारअन्तर्गत सिँचाइ डिभिजन कार्यालयले गुर्जुधारा, सातधारा र चित्लाङ राजकुलोको जीर्णोद्धार शुरु गरेको छ ।
थाहा– ९ को कुश्लेचौरमा पनि सरस्वती र गणेशको मूर्तिसहितको कलात्मक ढुंगेधारा रहेको छ ।

थाहा– १० को प्रशिद्ध चम्पाकेश्वर मन्दिरसँगैको ढुंगेधारा अहिले लोप भइसकेको छ । कलाँटोमा पानी खस्ने ढुंगा निकालेर राखिएको छ भने टौखेल र सिसिण्डोलमा रहेको ढुंगेधाराबाट पानी झरिरहेको छ । तल्लो बिसिङ्खेलमा रहेको ढुंगेधारामा पाँच वर्षपछि पानी आएको छ । विसं २०७२ को विनासकारी भूकम्कसँगै विसिङ्खेलको ढुंगेधारामा पानी सुकेको थियो । रुपासेखोलास्थित मुहानमा पानी आएसँगै ढुंगेधारामा पनि पानी आउन थालेको स्थानीय बासिन्दाले बताएका छन् । ढुंगेधारा नजिकै नागको थान रहेको र नजिकै दुईवटा ढुंगेधारा रहनुले स्थानीयले यो धारालाई विशेष महत्वको रुपमा लिँदै आएका छन् । दुईमध्ये एउटा धारा बाढीले पुरेर लोप भइसकेको छ । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले नगरको ऐतिहासिकता बोकेका परम्परागत ढुंगेधाराहरुको उचित संरक्षण गरिने बताउनुभएको छ ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...