jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

"थाहा"

रुपचन्द्रको सालिकछेउ उभिएर:-युग पाठक

DSC05242-1718026377.JPG

अहिले मलाई भेट्दा हुन् त के भन्दा हुन् ? 'भाते, श्रम गर्नु छैन भरिलो जुँगामुठे उमेरमा भकुन्डोजस्तो मोटाएको छ' भनेर हप्काउँदै मेरो गाला बेस्सरी चिमोट्थे कि ?

अघोरबाट उकालो लागेपछि चिसो बढ्न थाल्छ । त्यो चिसोसँगै रूपचन्द्रको सालिक मेरो आँखै अघिल्तिर ठिङ उभिन्छ । पालुङतिर जान थाल्दा मलाई सँधै यस्तै प्रकारको ऐंठनजस्तो हुन्छ । रूपचन्द्र मैले कहिल्यै नदेखेको मान्छे, तर मिथकहरूको रुमानी भुइँकुहिरोको फेर पक्रेर उनको छवि मेरो मनमा तैरिरहन्छ । अहिले मलाई भेट्दा हुन् त के भन्दा हुन् ? 'भाते, श्रम गर्नु छैन भरिलो जुँगामुठे उमेरमा भकुन्डोजस्तो मोटाएको छ' भनेर हप्काउँदै मेरो गाला बेस्सरी चिमोट्थे कि ?
अँ, पालुङ जाँदै छु । पाठकवृन्द, यो दृश्यलाई पछ्याउनुहोला । तपाईंलाई थाहा हुनुपर्छ, पालुङ मकवानपुरको उत्तरी भेगमा पर्ने सुन्दर उपत्यका हो । पालुङको आलु र बन्दाकोबी त प्रख्यात नै छ । उच्च पहाडी सौन्दर्य बोकेको अघोर बजार सानो छ, यसको छातीको बीचैबीच बाइरोडको बाटो नागबेली परेर उकालो चढ्दै छ । आकाशमा बादलका लप्का मडारिन थाल्ने मौसममा अघोरदेखि नै बादलका ठुल्ठूला चोइला कुहिरो बनेर पहाडभरि हाम्फाल्दै हुन्छन् । यो वर्ष असोजसम्म मनसुनी बादलले अनेक सुरतालका वषर्ा गराइरहेको छ । त्यसैले म उकालो चढिरहेको बाटोमा पनि सिमसिम पानी परेका र नपरेका ठाउँहरू भेटिन्छन् ।
देख्नु'भो त, लौ कुहिरोले पूरै बाटो डम्म छ । केही देखिने होइन । चस्मामा कुहिरोको आक्रमण, हेडलाइट बालेर आइरहेका सवारीहरूलाई साइड दिने चक्करमा भीरबाट गुल्टिने सम्भावना उत्तिकै । लेकाली बसीफाँट माध्यमिक विद्यालयको रमणीय दृश्य हेर्ने ठाउँ हो यो । परार साल उपन्यास लेख्ने सिलसिलामा यही स्कुलको गेस्ट हाउसमा बास मागेर गुप्तबास बस्ने असफल योजना पनि बनाएको थिएँ । सीमभन्ज्याङ आइपुग्न अब धेरै छैन । बाटोमा पर्ने सस्याना बजारका किनारमा उभिएका नांगाभुतुंगा नानीहरूको आँखामा रुप्चनको छवि खोज्दै उकालो कुदाइरहेको छु मोटरसाइकल । अहँ मन हलुको छँदै छैन । कवि साम्ब ढकालले एकपटक हिउँ हेर्न यतैतिर आउने सल्लाह गर्दा भन्थे, 'तपाईंहरू विश्मयकारी प्राकृतिक सौन्दर्य खोज्न जान लाग्दै हुनुहुन्छ, मैले त हिउँको पीडा देखेको छु भोगेको छु ।'
यी आङ नढाकिएका नानीहरूलाई देखेपछि तपाईंलाई पनि त्यस्तै लागेन त ? हिउँले पिउने पानीको मुहानै गायब गरिदिएको छ, साना नानीहरू सिंगान भरिएका नाकबाट सास फेर्न नसकेर निसास्सिँदै रोइरहेका छन्, काँपेका ओठहरू हिउँलाई सरापिरहेका छन् । तपाईंको मनमा यस्तै दृश्य उत्रियो होला होइन त ? यस्तैयस्तै बेला रुप्चनको सालिक झन्झन् ठूलो हुन लागेको प्रतीत हुन्छ ।
कुहिरोको पिरपिर आँसु सिमसिम पानीभन्दा कम छैन । दामन आइपुगेको तपाईंले थाहा पाउनु'भो होला । भ्यु टावर, कुहिरोमा लपेटिएका सल्लाका रुखहरू, केही पसल, होटल इत्यादि देख्नु'भो होला । अँ हो, यो प्रतिध्वनि एफएमको टावर हो । तीसको दशकमा यही ठाउँमा रूपचन्द्र विष्ट रेस्टुरेन्ट र लज चलाएर बस्थे रे । बाख्रा पालेर गोठालो लाग्थे रे । विदेशी पर्यटकसँग दर्शनका विषयमा शास्त्रार्थ गर्थे रे । श्रमप्रति अगाध श्रद्धा भएका उनी सारा काम स्वयं गर्दथे रे ।
कुरो बेलाबेला फ्ल्यासब्याकमा जान्छ । दृश्यहरू कल्पना गर्न झिँजो नमान्नुहोला । मैले सुरुमै स्वीकार गरिसकेको छु, उनलाई सशरीर मैले कहिल्यै देखिनँ । मिथकहरू त भरमार छन्, उनलाई चिन्ने जान्ने र उनीसँगै सहकार्य गर्नेहरू पनि प्रशस्तै भेटिन्छन् । पुलिसले खेद्दाखेद्दै नारायणी नदीमा हाम्फालेर गायब भएका रुप्चन पछि जोगी भएर फर्किएको मिथक त उनका सहकर्मीहरूका लागि पनि मिथकै होला ।
पख्नुस्, चिसो छ, एक कप चिया पिएर मात्र पालुङतिर झर्नुपर्छ । पञ्चायती व्यवस्थालाई राष्ट्रिय पञ्चायतभित्रै ध्वस्त हुन्जेल भत्सर्ना गर्ने रुप्चनको भाषण सुन्न उतिबेला पञ्चहरू नै सन्नाटा बनाउँथे रे । हामी पनि केहीबेर उनका कुरा सुनौं । दृश्य यस्तो हुन सक्छ ः रुप्चन चुरोटका बट्टा च्यातेर पर्चा लेख्दै छन्, ठीक यही चियापसलको बाहिरपट्टकिो चट्टाने आँगनमा राखेको एउटा खाटमा बसेर । उनका पर्चा दस पैसा हालेर किन्नुपर्छ, त्यसै पाइँदैन । उनको बलिष्ठ
शरीरलाई मात्र होइन, उनको विश्मयकारी छविलाई पनि सबैले आश्चर्य मिसाएर चिनेका छन् । दृश्यमा चुरोटको खोलमा लेखिएको पर्चा छ ः केटाकेटी बिग्रे बाबु-आमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी, अनि यथार्थमुखी, कर्तव्यमुखीबाहेक, पछुवा भगुवा सारा दोषी ।
पर्चाबाट आँखा हटाएर विचार गर्नोस्, हामीले बिगि्रयो भनेको देश बिगार्न को-को दोषी होलान् ? अनि तपाईंलाई 'थाहा' भएन चुरो कुरो ? चिटिक्क परेर शानसौकत देखाउने ठूलाबडा यो देश बिगार्न सबैभन्दा बढी दोषी रहेछन् । तर तिनको रोबरबाफ अझै घटेको छैन । यही होटलमा पनि बेलाबेला उनीहरू झुल्किन्छन् । अब उनले मेरो रेनकोटको छातीमै पारेर रातो मसीले 'थाहा' लेखिदिएको दृश्य हेर्नोस् । अब उनको कोणसभा सुरु हुन लाग्दै छ । वरिपरि सबैका बाहुला वा छातीमा 'थाहा' टल्किरहेको छ । उनको बडेमाको ज्यान ठिङ उभिएपछि सबै मानिसको ध्यान त्यतै जान्छ । हातको हातेमाइक मुखमा टाँसेर बोल्न थालेपछि तपाईंले सुन्नु'भो नि, उनको आवाज
स्वयं माइकको जस्तो रहेछ ।
सभाका सभापति अहिलेसम्म समाजको 'प्रदूषण'ले नछोएको सानो बालक छ । उनले सम्बोधन ठोक्दै छन् ः सभाका सभापति ! विद्रोहकारी कलिला बालबालिका, क्रान्तिकारी श्रमिक, जीवन विषयी बुद्धिजीवी, सामाजिक परिवर्तनकारी नारी एवं सबै वक्ता एवं श्रोता...। थाहा पाइहाल्नु'भो, समाजलाई क्रान्तिकारी रूपान्तरण गर्न सक्ने मान्छेको वर्गलाई उनले कसरी चिनेका छन् र कसरी ठ्याक्कै त्यहीँ पारेर सम्बोधन गरेका छन् । 'जय देश जय नरेश' भनेर भाषण नटुंग्याए मुद्दा लाग्ने बेला उनको भाषणको टुंग्याउनी हुन्थ्यो ः जय अधिकार, जय विकास ।
हो, थाहा पाइहाल्नु'भो उनका सहकर्मीहरूले ठीक यही टुंग्यानीमा भाषण टुंग्याए नि । ओहो, पख्नुस् है, विकास घरको बाहिरबाटै दृश्यभित्र पुर्‍याउँला भन्दाभन्दै भित्रैको दृश्यमा पुर्‍याइसकेछु । अघि भर्खर पालुङ उपत्यका आइपुगेपछिको दृश्य देखाउँछु, रिप्ले गर्ने सुविधा छँदैछ नि ।
पालुङको शिखरकोटमा बाटोभरि देखेको भन्दा धेरै चहलपहल छ । बजार पनि बाक्लो र ठूलो छ । बजारको उत्तरी पुछारबाट अर्को बाटो पश्चिमपट्ट िओरालो र्झछ । हो यही ओरालो ५० मिटर जति झरेपछि बायाँपट्ट िविकासघर छ । चिन्नुभएन ? एकैछिन् है, दृश्य घुमेर विकासघरको आँगनैमा उभिएको रूपचन्द्रको सालिकमा पुग्छ । अब त पक्कै चिन्नु'भो । हो, टिनको छानैमुन्तिर भित्तामा 'थाहा' र अलि तल 'विकासघर' पनि लेखिएको छ, अनि बीचमा छ ः कोही हाम्रा होइनन् । हामी सत्य र ठीकका, सत्य र ठीक हाम्रा- स्वरूपे ।
उनको भाषा विल्कुल भिन्न थियो । ठाडो, स्पष्ट र तीरजस्तो तिखो । जति विशिष्ट उनको भाषा हुन्थ्यो, उनका विचित्रका उपनाम हुन्थे । स्वरूपे देख्नु'भो नि, हो त्यस्तै रुदाने, जसरु, रायसरु पनि थिए । पर्चा गर्दा उनका यी नामहरू प्रयोग हुन्थे । सर्वसाधारणको भाषा त सुन्नुभो नि, भर्खरै चर्को स्वरमा यो विकासघरभित्रको सस्यानो सभालाई सम्बोधन गर्ने थाहा सहकर्मी राजेश केसीले पटक-पटक 'रुप्चन' भनेका थिए ।
अँ, दृश्य रिप्लेबाट फर्किसक्यो है, झुक्किनुहोला ।
बुढ्यौलीले छोए-छोएजस्तो उमेरका राजेश केसी त खुब रिसाएका पो छन् त । रुप्चनको सम्झना कति धेरै प्रकारले मान्छेको मनमा पसिरहेको छ । अब अर्का सहकर्मी ज्योति रायमाझीको पालो । दाह्री फुल्न लागिसक्यो यिनको पनि, तर उमेर त ज्यास्ती होइन । उनले पनि चर्को स्वरमा भने- जे थाहा पाइन्छ त्यो गर्ने, जे थाहा पाइन्न त्यो नगर्ने । अभ्यास गरिरहने, थाहा पाउने । व्यवहारमुक्त हुन गाह्रो छ, जातबाट जनैबाट राजनीति छ, यसलाई जनमुखी गरिदिने ।
मैले आजसम्म जति जनमुखी सहकर्मीहरू भेटेको छु, सबैको बोलीको ढप, लय र ताल उस्तै-उस्तै हुन्छ । रुप्चनसँग गाउँगाउँ चाहर्दाको अनुभव खास-खास मात्रामा सबैले गरेका छन् । त्यो मात्राको लेखाजोखा हाम्रो दृश्यमा देखिँदैन । सहकर्मीहरूलाई नै त्यो मात्रा सम्झने सुविधा दिउ“m । हामी जुन विकासघरभित्र बसेर हेटौंडाबाट प्रकाशित हुन थालेको 'मनको कुरा' मासिक पत्रिकाको विमोचन कार्यक्रममा भाग लिइरहेका छौं, यही घर ज्योति रायमाझीहरू केटाकेटी छँदा लुकामारी खेल्ने बडेमानका ढुंगा फुटाएर बनाइएको थियो रे । रुप्चनले त्यतिबेला लामा लामा दाह्री कपाल पालेका थिए । उनैको पहलमा धेरै जनसमुदाय ढुंगेनी तोडेर घर बनाउने काममा जुटेका थिए त्यतिबेला । धेरै मान्छे अट्ने साझा घर बनाउने अभियान थियो त्यो । तपाईंको कल्पनामा त्यो ढुंगेनी तोड्दै गरेका, ढुंगा ओसार्दै गरेका, गारो लगाउँदै गरेका जनसमुदायको लस्कर उदायो होला । हो, सामुदायिक काम र सामुदायिक खेतीको अभ्यास उनले उतिबेलै पालुङमा गरिसकेका थिए ।
अब दृश्यमा आफैं असिनपसिन भएर श्रम गरिरहेको रुप्चनले एक चिम्टी चिनी, एक चौथाइ भटमास पंक्तिबद्ध जनसमुदायलाई बाँडिरहेको देखिन्छ । अब विकासघरपछि विकास खेत बनाउने काम सुरु भएको अर्को दृश्य देखिन्छ है । खेल्पु डाँडालाई खार्ने र साझा भूमि तयार गर्ने काम हुँदै छ । अनि पञ्चायती मण्डले प्रवृत्तिले उनको अभियान रोक्न नजिकैको डाँडामा बस्ने देउलाहरूलाई उठाएर त्यो अभियानका नाइकेहरूलाई कुट्ने काम सुरु हुन्छ । त्यहाँ भागदौड, कुटाकुटको दृश्य देखापर्छ । अनि रुप्चन जेल परेको खबर चियापसल, पँधेराहरूमा खासखुस चल्छ । अनि फेरि सुनसान हुन्छ गाउँ ।
फेरि जनकल्याण माविको हेडसर भएर रुप्चन गाउँमै सक्रिय हुन थाल्छन् दृश्यमा । तरकारी खेतीमा उनले भित्र्याएको विकासको विचारले मलको काम गर्छ । मानिस तरकारीखेती अभियानका रूपमा गर्न थाल्छन् । फेरि रुप्चन चुप लागेर बस्न सक्दैनन् । 'छोराछोरी पढाउने जिन्दावाद, नपढाउने मुर्दावाद' को नारा पहाडहरूले प्रतिध्वनित गर्दछन् । बिहानी, बेलुकी पाठशालाहरू सुरु हुन्छन् । थाहा पाउनु जरुरी हुन्थ्यो नि जनताले । अन्यायको कारण के हो, राज्यव्यवस्था गएगुज्रेको हुनुको कारण के थियो ? प्लेकार्ड बोक्ने र नारा लगाउनेहरूको लस्करले गाउँलाई पटक-पटक मुर्दा-शान्तिबाट ब्युँझाइरहन्थ्यो ।
दृश्य फेरि फ्ल्यासब्याकबाट र्फकन्छ । ज्योति रायमाझी भन्दै छन्, रुप्चनलाई पिँढी दरपिँढीसम्म चिनाउनु थियो, त्यसैले सालिक बनाउनु जरुरी भयो । अनि म बाहिर निस्कन्छु । दृश्यले मलाई पछ्याइरहेकै छ । म सालिकलाई हेरिरहन्छु । दुई/चार फोटो खिँच्छु । सालिकमा समेत रुप्चन जिवित जस्तो लाग्छन् । तलबाट हेरिरहेको छु, रुप्चन अग्लो-अग्लो हुँदै गइरहेका पो छन् त । उनको हातको हातेमाइकमा गएर दृश्य टक्क अडिन्छ ।
सूचनाको हक संविधानमा
व्यवस्था भएको धेरै वर्ष
भइसक्यो । अहिले अन्तरिम संविधानमा पनि
छ । सतहमा के भए भनेर थाहा पाउनु मात्र सूचनाको हक हो कि रुप्चनको हातेमाइकले झैं जीवनको सुख-दुःखका कारण खोतल्ने चेतना चाहा पाउनु सूचनाको हक हो ? मनमा प्रश्न बिझिरहन्छ । तपाईंले देखिरहेको दृश्यमा यो प्रश्न देखिन्छ कि देखिन्न कुन्नि ?

युग पाठक

 

 

DSC05242-1718026391.JPG
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...