pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

युगले बिर्सन नहुने युग पुरुष रुपचन्द्र बिष्ट

1736507278028-1736507308.jpg


'हामी कसैको होइनौँ, कोही हाम्रा होइनन्,

हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रो ' -रुदाने ।

यहाँ सिद्धान्त लेख्नेहरू, सिद्धान्त पढ्नेहरू, कण्ठ गर्नेहरू धेरै जन्मिए । यति मात्र होइन, सिद्धान्तका लागि जीवन र जीवनका लागि सिद्धान्त दिने दुवै थरीका नि जन्मिसके । सिद्धान्तलाई जनताको बोली, व्यवहार, विचारको कसीमा तौलेर जनहितका खातिर क्रान्तिको आगोमा जल्नेहरू विरलै जन्मिन्छन् । र, नेपाल आमाको गर्भबाट जन्मिएका विलक्षण प्रतिभाहरूले इतिहासलाई सधैँका लागि अविस्मरणीय बनाइदिएका छन् । केही यति महान् हुन्छन् कि इतिहास षड्यन्त्रस्वरूप या आफैँ पनि मेटिन सक्दैन । त्यस्तै, एक क्रान्तिकारी युगपुरुष मकवानपुरको काखबाट जन्मियो, हुर्कियो र देश र जनताका लागि लड्दालड्दै थाकेर गयो ।

मकवानपुरका लागि मात्र होइन, नेपालकै लागि सन्देश र 'थाहा' थियो यो नाम । रूपचन्द्र विष्ट दामन नेपाल अर्थात् 'रुदाने' । अर्को कामसहितको पहिचान 'जसरु' अर्थात् जनमुखी सहकर्मी रूपचन्द्र या भनम् जनतासँग रूपचन्द्र । वर्तमानको पीडा छ– आजको मेरो पुस्ता र मपछिको पुस्ताका लागि यो नाम, व्यक्तित्व र यसमा अङ्कित दर्शनसंग्रहको महत्त्वबारेको जानकारी दिने इतिहास हराउँदै गैराखेको छ । न इतिहास हस्तान्तरण हुन राम्ररी सक्यो, न पुस्तामा पुस्तान्तरण हुन सक्यो । रूपचन्द्र खुल्ला किताब थिए । रूपचन्द्र भेटिन नै गाह्रो भैसक्यो  । तर, कमसेकम मकवानपुरका हरेक घरमा रूपचन्द्रका अवशेषहरू छन् ।

म रूपचन्द्रको जीवनी भन्न चाहन्नँ, किनकि रूपचन्द्र आफैँमा अत्यधिक जटिल दर्शन हो, क्रान्ति र एकैपटक समयसुहाउँदो र समयभन्दा अगाडिको विचार र व्यवहार हो । म उनलाई देवत्वकरण गरेर उनकै अपमान पनि गर्न चाहन्नँ । मेरो कुनै पार्टी विशेषसँग कुनै राजनीतिक पूर्वाग्रह पनि छैन । अझ मेरा केही कुराहरूमा रुदानेसँग नै पनि मतभेद छ । व्यक्ति कहिल्यै पूर्ण हुन सक्दैन । रूपचन्द्रकै आदर्श मार्क्स, माओ पनि पूर्ण थिएनन् । तर, यो पुस्ताले र अब आउने पुस्ताले अवश्य रुदानेलाई थाहा पाउनैपर्छ । रुदानेका विचारहरूले अमरता पाइसके तर देशलाई फेरि रूपचन्द्र चाहिएको छ । मसानघाटबाट फेरि उनी गाउँ फर्किनुपर्छ । रूपचन्द्रको प्रत्यागमन आवश्यक छ अब ।

उनले सधैँ सत्य खोज्न भने, थाहा पाउन भने, आज म रूपचन्द्रलाई नै खोज्न र थाहा पाउन भन्दै छु र त्यो यात्रा, प्रयासका लागि एक झिल्को प्रकाशस्वरूप मेरा केही शब्दहरू हुन् ।

रूपचन्द्र विष्ट एक असल र खाँटी कम्युनिस्ट, क्रान्तिकारी योद्धा, बेखौफ विद्रोही, जनमुखी सहकर्मी, स्पष्ट विचारक, जनबोली उतार्ने साहित्यकार, माटो बुझेको दार्शनिक, 'थाहा'को प्रणेता, स्वार्थहीन राजनीतिज्ञ, सम्भ्रान्त परिवारमा जन्मिएर पनि सर्वहाराको आवाज, आफैँमा एक संघर्ष, क्रान्ति, विचार र आन्दोलन, व्यक्ति एक व्यक्तित्व अनेक । तर, म रुदानेलाई दलीयकरण गर्न चाहन्नँ । उनी देशवादी या जनतावादी थिए ।

समाजको समानता र भुईं मान्छेको आधार र आवाजको चर्को ध्वनि थिए रूपचन्द्र । समग्र मकवानपुरको इतिहास यसको साक्षी हो ।

साम्यवादी समाजको परिकल्पना गरेका कम्युनिस्ट दार्शनिकहरूलाई एक पुस्तक र अध्ययन हो यो इतिहास । रुदाने आफैँमा भिन्न थिए । मानौँ, असमानता, विकृति र विसंगतिलाई विद्रोह र जागरुकताको अग्निले राख बनाउन आएको आफैँमा एक सन्न्यासी ।

रुदानेको वार्तालाप विचित्रको थियो । त्यो संवाद, त्यो शब्द, त्यो विचारमा स्पष्टता र शुद्धता थियो । गाउँकै बोलीमा जटिल कुरा भन्दिन्थे उनी । जस्तो देख्थे, जस्तो बुझ्थे, त्यस्तै बोल्थे । न कुनै मिसावट, न चाकरी, न आलापविलाप । आफ्ना नजिकका या साथीहरूलाई सधैँ 'भाते' भन्दिन्थे तर खराबलाई भ्रष्टाचारी, चोर, अपराधी जे देख्थे त्यही भन्थे । उनी सम्बोधन पनि कर्मको उत्तरपुस्तिकालाई आफ्नो अन्तरआत्माबाट तौलेर जाँचेर गर्थे । पद, प्रतिष्ठा, पैसा, शक्ति केहीले उनको बोली विचलित पार्न सक्दैनथे ।

रापसमा हुँदै उनी पञ्चायतको खरो विरोध गर्थे । त्यो समयमा दरबारको विरोध गर्न या व्यवस्थाको विपक्षमा त्यही व्यवस्थाको नुन खाएर, त्यसकै पक्षहरूको भिडमा बसेर, पदबहालीमा रहँदै खरो असहमति तर्कसहित प्रस्तुत गर्न भिन्न मुटु चाहिन्थ्यो र रूपचन्द्र असाधारण थिए । नतिजास्वरूप धेरैपटक जेल बसे । राजद्रोहसम्म लगाइयो । तर, आफ्ना लागि होइन, समाजका लागि बोलेर । यो बलिदान हो, त्याग हो, सँगसँगै तपस्या पनि हो । पञ्चायतमा मात्र होइन, बहुदल आएपछि पनि रुदानेको आवाज त्यति नै बुलन्द थियो । भन्थे, 'अवसर प्राप्त नभएर इमानदार भएका फटाहाहरू पदमा पुगेपछि थाहा हुनेछ ।'

मन्त्री, प्रधानमन्त्रीलाई समेत 'तँ' सर्वनाम प्रयोग गर्ने सामर्थ्य थियो रूपचन्द्रसँग । उनी सिकाउँथे कि हातमा ठेला उठेका मजदुरलाई 'तपाईं' सम्बोधन गर्नू तर त्यही तडकभडक देखाएर बजार डुल्नी सेठ नै भए पनि 'तँ' भन्दिनू ।

'थाहा' सिद्धान्त, अभियानबाट रूपचन्द्र परिचित छन् । थाहा के हो ? एक स्वाभाविक प्रश्न । उनकै वाक्य दोहोर्‍याएँ:

'जीविका मात्र खोजिरहेका मान्छेहरूको मनस्थितिमा एक विद्रोह गर्न,
तिमी त मान्छे पो हौ त भनेर सम्झाउन,
उसको विरोधमा- उसैको हजुरमा
एक उजुर हो- थाहा ।'

आज सिंहदरबार र जनताका बीच सुदूर सम्बन्ध छ, किनकि जनता सिंहदरबारका कुरा जान्न सकिराखेका छैनन् । त्यो पर्खाल साह्रै विराट छ । अब त्यो पर्खाल पारदर्शी बन्नुपर्छ । तसर्थ जनताको सचेतना, जागरुकताको अभियान हो 'थाहा' । त्यही दर्शनको सम्मानस्वरूप 'थाहा' नगरपालिको न्वारन भएको हो ।

'चार माना माटोसँग तेरो नाता पर्‍यो भनेर,
माटोको भाँडाले तँसित दोस्ती स्वस्ती गर्‍यो भनेर,
बसिस् कैद गमलामा सिङ्गै पृथ्वीलाई छोडेर ।' -रूपचन्द्र

रूपचन्द्र सारा विश्वका लागि सोच्दथे । आफ्नोभन्दा बढी परहित बोल्दथे । माथिको हरफ त्यसकै एक सबुत हो ।

राम्रो र सम्पन्न परिवारमा जन्मिए, गाउँमा हुर्किए, बाहिर गएर पढे, कानुनमा स्नातक गरे, पछि त्यही डिग्री समूहमै च्यातिदिए, जीवनभर भुईं मान्छेका लागि लडे, सान्त्वना होइन संघर्ष सिकाए, आफैँ आफ्नो लागि उठ्न, बोल्न, दौडिन र शासन गर्न सिकाए, स्वाभिमानी बन्न सिकाए ।

राष्ट्रिय पञ्चायतका सदस्य भए पनि बोराको कपडा लगाए, निम्न परिवारको घरमा जस्तो पाक्यो, त्यस्तै खान्थे पूर्ण सन्तुष्टिसहित । स्वतन्त्रताका लागि पञ्चायतसँगै लडे, दरबारबाट आएका बडाबडा पद ढोकाबाहिरैबाट अस्वीकार गरिदिन्थे । योगी र बैरागीको निसानी थियो रूपचन्द्रमा ।

यदि आज पनि रूपचन्द्र आए र मैले 'तपाईंको अभियान के हो' भनेर सोधेँ भने उनको जवाफ हुन्छ– 'ए भाते, तेरो टाउको जगाउने अभियान हो यो ।' साँच्चै 'थाहा' आन्दोलनलाई चेतना जगाउने क्रान्ति बनाउन चाहन्थे उनी ।

हरेक काम गर्थे उनी । समाज बुझ्न ड्राइभर बने । खर्च जुटाउन दिनभर कुल्ली काम गर्थे । प्रधानाध्यापक हुँदा श्रमदानको कक्षा राख्थे । आफ्नै माटोमा उब्जनी गरेर खाए । वर्षौंवर्ष बाख्रा पालन गरे । विदेशीलाई नेपालको पर्यटन पनि बुझाए । सधैँ झुत्रेझाम्रे भएरै बाँचे र उनीहरूसँगै मित्रता गाँसे । त्यहाँ सौहार्द र सहृदयता थियो । समाजले तल राखेका हुन् या समाजबाट टाढिएका, सबैका इष्ट थिए रूपचन्द्र । माटो खाएर, छोएर हुर्किएका उनी माटोसँग नजिक हुनेहरूसँग प्रगाढ सम्बन्ध थियो उनको ।

जसरुको जीवन साह्रै जटिल थियो । भनेर भन्न सकिने छैन र बुझेर बुझ्न सकिने छैन । मैले रूपचन्द्रलाई पढ्ने कोसिस गर्दा उनको दर्शन, जीवन र व्यवहारलाई सँगै अस्तित्वमा पाएँ । उनको दर्शन वर्तमान र भविष्यका लागि थियो । अब ती शिक्षामा, त्यो थाहामा विस्तृत विवेचना गर्नैपर्ने हुन्छ । हिजोको समय प्रतीक्षामा बितेर गयो र भविष्यको काल आशामा छ । आजको वर्तमानले रूपचन्द्रलाई बुझ्नैपर्ने हुन्छ ।

केही घटनाका परिप्रेक्ष्यबाट हेरौँ रूपचन्द्र विष्टलाई

- चुनावको पर्चा बेचेर चुनाव जित्ने उनी पहिलो नेता थिए । अहिले घोषणापत्रको बाढी बग्छ यहाँ ।

- माननीय सम्बोधनसँग उनको चरम असहमति थियो । जनता जाननीय नभई जनताले माननीय भन्नु पर्दैन भन्ने मान्यता थियो उनको ।

- जेल या मन्त्री छान्दा उनी कसैसँग किनिनु या बेचिनुभन्दा ज्यानबाहिरको साटो जेलभित्रै राख्छु भन्थे ।

- अर्थ जे–जस्तो भए पनि 'भाते कुकुर' शब्द सम्माननीय शब्दका रूपमा प्रयोग गर्थे । खराबले त यी शब्द पनि ग्रहण गर्न पाएनन् ।

- छोराछोरीलाई विद्यालय नपढाउनेको मुर्दावादको नारा लगाइदिन्थे ।

- नारीको सम्मान र शक्तिको पाठ घरमूलीहरूलाई समूहमै पढाइदिन्थे । भन्थे– छाप्रोको राजनीति महलले गरेर हुँदैन, महिलाको राजनीति पुरुषले गरेर हुँदैन ।

- जनतालाई 'भाते कुकुर' भनेरै भोट माग्थे ।

- आफ्नै परिवारसँग विद्रोह गरेर आफ्नो न्वारन आफैँले गरे ।

- पालुङमा विकास घर, वैज्ञानिक खेती, धर्म भकारीको अवधारणा लिएर आए र समाजलाई हाँके ।

- आलुमा उठाइएको करको हिसाब पारदर्शी बनाउन चोकचोकमा लेख्दै हिँडे ।

- गाउँमा कोही बिरामी पर्दा आफैँ हरदम हरघडी बोकेर उपचारका लागि लैजान्थे ।

- जात, धर्म, गोत्र, पहिचानबाट होइन, सधैँ श्रमका आधारमा सम्मान गर्थे ।

- पुर्ख्यौली सम्पत्तिमा आफ्नो व्यक्तिगत तलब र बचतको योगफलबाट समाजका लागि भवन अर्पित गर्दै थिए, दुर्भाग्यवश उनको देहावसान भयो ।

- विवाहको निम्तो चुरोटको खोलमा लेखेर बाँडिदिए र भोजमा जन्तीलाई एक कप चिया खुवाई पठाइदिए ।

- शैक्षिक, सामाजिक, व्यावहारिक, शारीरिक रूपमा बेजोड बलिया थिए । समाज र किताब दुवै पढेका थिए । बीपी र मदन भण्डारीलाई समेत समालोचना गर्थे ।

- आफ्नै गर्भवती श्रीमतीलाई श्रमदानमा लगाएको, सूर्यबहादुर थापालाई दिएको १० रूपैयाँ, नाच्न नमान्दा खाएको मुक्का, रापसको बैठकमा बोलेका विरोधका शब्दहरू, झ्याउरेलाई लेखिएको पत्रलगायत यस्ता अनेकन घटनाहरू छन्, जसले एक मानव देहधारीलाई रूपचन्द्र बनायो ।

उनी आफ्नो जीवनको अन्त्यतिर धेरै थाकिसकेका थिए । तर, कसैले बुझेनन् रूपचन्द्रलाई आखिर बोल्नैपर्‍यो, 'अब मेरो कुनै काम रहेन । बाँच्नुपर्ने कुनै कारण रहेन ।'

स्वास्थ्य अवस्था बिग्रेपछि प्राइभेटमा उपचार गर्न लैजान खोज्दा 'जनता जहाँ उपचार गर्छन्, त्यहीँ जान्छु' भनेर वीर अस्पताल नै गए । सुनिन्छ–  त्यहाँ पनि उनले भुईंमै आफ्नो उपचार गराउन अह्राए । तर, त्यही एक महान् योद्धाले आफ्नो देहको अन्तिम सास फेर्‍यो तर आज त्यो युगपुरुषलाई बिर्सने कगारमा यो युग छ । स्वार्थी समाजले नि:स्वार्थी रूपचन्द्रलाई बुझ्नै सकेन । उनी सशरीर उपस्थित नभए पनि उच्च प्रेरणाका स्रोत हुन् । आज पनि उनको विचार र सिद्धान्तलाई सहर्ष स्वीकारिन र अनुकरण गर्न सके समाजलाई नै परिवर्तन गर्न नसकिएला भन्न सकिन्न । नेपाली समाजका लागि त्यो योगदान सधैँ अतुलनीय, अवर्णित र अविस्मरणीय रहनेछ ।

यदि आज पनि रूपचन्द्र आए र मैले 'तपाईंको अभियान के हो' भनेर सोधेँ भने उनको जवाफ हुन्छ– 'ए भाते, तेरो टाउको जगाउने अभियान हो यो ।' साँच्चै 'थाहा' आन्दोलनलाई चेतना जगाउने क्रान्ति बनाउन चाहन्थे उनी । उनी भन्ने गर्थे, 'बुझ भाते, जान भाते, थाहा पा भाते ।' तसर्थ अबको पुस्ताले रूपचन्द्र सिद्धान्त र विचारलाई व्यवहारमा उतार्नुपर्छ । रूपचन्द्रहरू जन्मिनुपर्छ र जन्मिसकेका रूपचन्द्रहरू हुर्किनुपर्छ ।

मकवानपुरका हरेक माटो, हरेक घर रुदानेसँग परिचित छन् । तर, अहिलेका मकवानपुरकै नयाँ पुस्ता पनि उनीसँग अपरिचित छन् । यदि मकवानपुरकै अभिभावक हुनुहुन्छ भने आफ्ना छोराछोरी, नातिनातिनालाई रुदानेका बारेमा पढाउनुहोस् । म जन्मिँदा रूपचन्द्र भौतिक रूपमा यो दुनियाँमा नरहे पनि म स्वयम्‌ले बुबाकै माध्यमबाट उनको जीवन, दर्शन चिन्दै गएँ, नजिकिँदै गएँ ।

म यो पनि भन्न चाहन्छु कि शोधकर्ताहरूबाट रूपचन्द्रका बारेमा अझै धेरै खोज, विश्लेषण र विवेचना हुनु आवश्यक छ । उनको जीवन दर्शनका बारेमा बाहिर ल्याइनुपर्छ । 

अब रूपचन्द्रलाई फेरि ब्युँताउनुपर्छ । एउटा प्रामाणिक जीवनी लेखिनुपर्छ । उनका विचार र साहित्यको उचित संकलन गरी अधुरा र अन्तरिम लेखहरूलाई पूर्णता दिइनुपर्छ । उनका पूर्वार्द्धका संघर्ष र उत्तरार्द्धका थकान पनि लेखिनुपर्छ । पुराना रूपचन्द्रले नयाँ पुस्तालाई असीमित माया गर्छन् । तसर्थ उनको जीवन मात्र होइन, जिउँदो लास भन्न नचाहने रुदानेको मृत्युु पनि लेखिनुपर्छ । त्यो मन्दविष, त्यो हरियो काँक्रो, त्यो भोकमा पिएको रक्सी, ती लगाइएका लाञ्छना, योद्धा नै थाक्ने ती घात, आघात र प्रतिघात, परार्थी रूपचन्द्रका स्वार्थी मित्रहरू सबैको निरपेक्ष विवेचना लेखिनुपर्छ । र, लास माथि राजनीति नगर्नू भनी गएका रूपचन्द्रका तत्पश्चात्‌का राजनीतिहरू पनि लेखिनुपर्छ । रूपचन्द्रका मनका कुरा, त्यो अभ्यन्तरमा लुकेका अभिव्यक्त पीडाहरू पनि लेखिनुपर्छ अब ।

रूपचन्द्रको प्रत्यागमनको जरुरत छ आजको समाजलाई । रुदाने स्वयम् वास्तविक रूपमा अब फेरि लेखिनुपर्छ र समाजमा व्यवहारमा उतारिनुपर्छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...